२० मंसिर, पथरी । दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता हिसाब सार्वजनिक गरिएको छ ।
शनिबार पथरी–११ फुटबल क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै हिसाब सार्वजनिक गरेको हो । क्लबले प्रतियोगिताबाट ३ लाख ३ हजार ९५० रुपैया बचत गरेको छ ।
क्लबले ४५ लाख ४० हजार १५० रुपैया आम्दानी गरेको थियो भने ४२ लाख ३६ हजार २ सय खर्च गरेको क्लबका सचिव केशर राईले सार्वजनिक गरेको थियो ।
पथरी शनिश्चरे नगरपालिका ७ लाख ३९ हजार ७१० रुपैया, स्वदेश तथा विदेशमा रहेका व्यापारी, शुभचिन्तकहरुबाट १९ लाख ८५ हजार, ८४० रुपैया, मुख्य प्रायोजक इन्ट्रा फाउण्डेसनबाट ५ लाख, विभिन्न प्रायोजकहरुबाट ५ लाख, टिकट विक्रीबाट ८ लाख १४ हजार ६ सय रुपैया गरी जम्मा ४५ लाख ४० हजार १५० रुपैया रकम संकलन गरेको थियो ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुमन विकले प्रतियोगितामा आर्थिक रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै प्रतियोगितामा भएको खर्च र संकलित रकमको बारेमा प्रष्ट्याएका थिए ।
पथरी शनिश्चरे–१ स्थित रंगाशालामा कात्र्तिक १५ देखि २२ गते सम्म प्रतियोगिता भएको थियो । प्रतियोगिताको उपाधि सलहेश सिरहा युवा क्लबले जितेको थियो । सलहेशले ५ लाख, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका थिए । त्यस्तै आयोजक पथरी–११ फुटबल क्लब उपविजेता बनेका थिए । पथरी ११ ले २ लाख ५० हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका थिए ।
प्रतियोगितामा पाँचथर क्लब फिदिम, झापाको झापा ११ फुटबल क्लब, सिराहाको सलहेश युवा क्लब, काठमाडौंको संकटा क्लब, एनआरटी फुटबल क्लब, ललितपुरको बिग्रेड ब्वाइज क्लब, भारत सिलिगुडीको कञ्चनजंघा फुटबल क्लब र आयोजक इन्ट्रा पथरी ११ फुटबल क्लब सहित ८ टिमले प्रतिस्पर्धा गरेका थिए ।




