माघ २५ गते, काठमाडौं । अलिख नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन लिगको १०औं चरणको खेल यही माघ २८ गतेदेखि गर्ने भएको छ ।
माघ २ गते नवौं चरणका खेलहरु (नेपाल पुलिस र च्यासल बाहेक)को खेलपछि ब्रेक गरेको लिग एन्फाले फेरि सुरु गर्न लागेको हो ।
एन्फाले मंगलबारदेखि १० औं चरणका खेलहरु गर्ने गरी बाँकी रहेको चार चरणको खेलतालिका सार्वजनिक गरेको छ । त्यसअघि भोली माघ २६ गते बिहीबार नेपाल पुलिस र च्यासलबीचको यसअघि स्थगित भएको खेल हुनेछ ।
एन्फाले सार्वजनिक गरेको तालिका अनुसार १० औं र ११ औं चरणको खेल खेल तीन दिनमै सकिनेछ । जसमा दुई दिन दुई–दुई खेल हुनेछ भने एक दिन तीन खेल खेलाइनेछ । तीन खेल हुने दिन सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पनि खेल हुनेछ भने अरु खेल दशरथ रंगशालमै हुनेछ ।
सार्वजनिक खेलतालिका अनुसार १० औं चरणका खेलहरु माघ २८ देखि फागुन १ गतेसम्म सञ्चालन हुनेछ । एन्फाले नवौं चरणसम्मका खेलहरु विकेन्डमा खेलाएको थियो । तर अब बाँकी चरणका खेलहरु भने हरेक चरण सकिएपछि एक दिन ब्रेक हुनेछ र फेरि अर्को चरण सुरु हुनेछ ।
त्यसैले ११ औं चरणको खेल फागुन ३ देखि ५ गतेसम्म हुनेछ भने १२ औँ चरणका खेलहरु फागुन ७ देखि १० गतेसम्म सञ्चालन हुनेछ । १२ औं चरणको खेल चार दिन सञ्चालन हुनेछ ।
यस्तै एन्फाले १३औं चरणको खेल फागुन १२ देखि १४ गतेसम्म गर्ने जनाएको छ । तर खेल हुने स्थल र समय भने तय गरेको छैन । अनलाइन खबरबाट