पाँचौं झापा गोल्डको मस्कट, नारा र गीत सार्बजानिक - SportsNepal07

पाँचौं झापा गोल्डको मस्कट, नारा र गीत सार्बजानिक

भूमिका लिम्बु फियाक

फागुन ६ गते, विर्तामोड । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्ड कपको पाँचौँ संस्करण यही फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोड नगरपालिका–३ स्थित डोमालाल राजवंशी रंगशालामा हुदैछ ।

विहिबार पत्रकार सम्मेलनको आयोजना गरी गोल्डकपलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पाँचौँ झापा गोल्ड कपको औपचारिक मस्कटका रुपमा हात्तीको छावालाई प्रतिनिधित्व गराइएको छ । छावाले फुटबल किक गर्दै गरेको प्रतिकका रुपमा मस्कट निर्माण गरिएको छ । मस्कटको निर्माण कलाकार पवन राजवंशीले गरेका हुन् । यो वर्षको झापा गोल्डकपको नारा ‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो शान’ तय गरिएको छ ।

त्यसतै पहिलोपटक औपचारिक गीत निर्माण गरेर सार्वजनिक गरिएको छ । झापाको भूगोल र यहाँको फुटबलप्रतिको लगावलाई समेट्दै जिल्लालाई फुटबल हबको रुपमा विकास गर्ने उद्देश्यले गीत निर्माण गरिएको गोल्डकप समितिको भनाई छ ।
गीतकार बसन्त थाम्सुहाङको रचना रहेको गीतमा पारस मुकारुङले संगीत भरेका छन् भने उक्त गीतमा गायक डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दिपा लामाको स्वर रहेको छ ।

झापाबासीकै प्रतिष्ठासँग जोडिएको सो प्रतियोगितालाई सानदार ढंगले सफल बनाउन झापाली उद्योगी, व्यवसायी र खेलप्रेमी महानुभावहरु पत्रकार, मिडिया हाउसहरुको भूमिका महत्वपूर्ण रहने भएकोले सम्पूर्ण उद्योगी, व्यवसायी, पत्रकार साथीहरुलाई साथ र सहयोगको लागि अपील पनि गरिएको छ ।

झापा गोल्ड कपका अध्यक्ष बिनोद बस्नेतद्वारा हस्ताक्षरित तथा पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा भनिएको छ, ‘झापा गोल्डकपलाई एउटा सामाजिक तथा स्थापित संस्थाको रुपमा अगाडि बढाउन र जिल्लामा नै अगुवा संस्थाको रुपमा चिनाउन सबैखाले सामाजिक अभियानसँग जोडेर आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व सहितको रचनात्मक कार्यहरुमा यस संस्थालाई सक्रियताका साथ अगाडि बढाउने प्रतिबद्धता गर्दछौँ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर