फागुन १२ गते, विराटनगर । आयोजक ओमानलाई पराजित गर्दै आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल तेस्रो स्थानमा रहेर सकाएको छ ।
अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालको सपना सेमिफाइनलमा युएईसँग हार बेहोरेपछि सकिएको थियो । आज भएको तेस्रो स्थानको लागि भएको खेलमा घरेलु टिम ओभमानलाई नेपालले ९ विकेटले पराजित गरेको छ ।
ओभमनले दिएको ८८ रनको झिनो लक्ष्य पछ्याएको नेपालले १७ दशमलव २ बल खेल्दै पार गरेको थियो । ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका थिए । भुर्तेलले ५३ बल खल्दै ३ चौका र २ छक्का मद्दतमा अविजित ५५ रन बनाए । यस्तै आरिफ शेखले अविजित २१ रन बनाउँदा आसिफ शेखले १३ रन बनाए ।
पहिलो विकेटका लागि भुर्तेल र आसिफले ७ दशमलव ३ बलमा ५० रनको साझेदारी गरेका थिए । त्यसपछि भुर्तेल र आरिफले मिलेर नेपाललाई जितसम्म र्पुयाए । यी दुईले दोस्रो विकेटका लागि अविजित ४० रनको साझेदारी गरे ।
ओमानविरुद्ध अर्धशतक प्रहार गरेका कुशल भुर्तेल नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक ५ अर्धशतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन् । उनले एक शतकसमेत प्रहार गरेका छन् । भुर्तेलले ११ खेलमा कूल ४९८ रन बनाएका छन् । यस्तै पूर्वकप्तान पारस खड्काले टी–२० मा एक शतक र ४ अर्धशतक प्रहार गरेका छन् ।
यस अघि मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८७ रनमा बनायो । नेपाली बलरहरू हाबी भएपछि ओमानका कुनै पनि ब्याटरले लामो इनिङ खेल्न सकेनन् । कप्तान जिसन मक्सुद २१ रन,आयान खान १६ रन, नसिम खुसी १५ रन र कलिमुल्लाह १४ ले मात्र दोहोरो अंकको रन छुन सके ।
नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिँदा आरिफ शेख, सागर ढकाल, अविनाश बोहोरा र कमलसिंह ऐरीले १–१ विकेट लिए ।
मंगलबार युएईसँग ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा छानिन असफल भएको थियो । त्यसअघि समूह चरणमा नेपालले शतप्रतिशत जित हासिल गरेको थियो । समूह चरणमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो । त्यसअघि ओमानमै आयोजित चार देशीय शृंखलाका क्रममा नेपालले ओमानमाथि ६ विकेटको जित रचेको थियो ।