फागुन १५ गते, पथरी । मोरङको उर्लाबारीमा तेस्रो उर्लाबारी मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा वडा नम्बर–६ विजयी भएको छ ।
उर्लाबारी–६ स्थित राधिका माविको खेल मैदानमा आइतबार भएको प्रतियोगितामा वडा नम्बर–३ लाई २ को विरुद्ध शुन्यले हराउँदै वडा नम्बर –६ विजयी भएको हो । वडा नम्बर– ६ को जितमा जंगबहादुर खड्का एक्लैले २ गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच वडा नम्बर– ६ को जितमा जंगबहादुर खड्का नै घोषित भएका थिए । फागुन २३ गतेसम्म संचालन हुने प्रतियोगितामा उर्लाबारीका ९ वटै वडाको सहभागिता रहेको छ । प्रतियोगितामा भोली सोमबार वडा नम्बर–५ र ९ बीच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख १५ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजक समितिका सचिव भिष्म बुढाथोकीले बताए ।