
फागुन २६ गते, बिर्तामोड । झापाको बिर्तामोडमा जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा घरेलु टोली झापा–११ फुटबल क्लब प्रवेश गरेको छ ।
बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो । झापा–११ का लागि विमल घर्ती मगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे ।
रेडपाण्डाले झापा–११ लाई एक गोल फर्काएका थिए । रेडपाण्डाल खेलको ६६ औँ मिनेटमा पेनाल्टी मार्फत योगेश मगरले गोल गरे । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डिएरियामा फल गरेपछि पेनाल्टी पाएको थियो ।
झापा–११ ले खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको ३१ औँ मिनेटमा झापाका विमल घर्ती मगरले पेनाल्टीमार्फत गोल गरे । सिक्किमका सागर गुरुङले झापाका रुपेश बर्तौलालाई डिएरियामा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरे ।
५५ औँ मिनेटमा सिक्किमका पिन्सो भुटियाले अन गोल गरे ।
झापाका लागि तेस्रो गोल ५८ औँ मिनेटमा कप्तान विशाल राई बीले गरे । ७७ औँ मिनेटमा विमल घर्ती मगरले पेनाल्टीमार्फत टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे । सिक्किमका पिन्सो लेप्चाको हेन्ड बलमा पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरे ।
खेलको ८९ औँ मिनेटमा विश्वास श्रेष्ठले गोल थप्दै टिमलाई ५–१ को अन्तरमा पुर्याए । खेलको ८४ औँ मिनेटमा सिक्किम १० खेलाडीमा समेटियो । सिक्किमका पिन्सो लेप्चा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।