
साउन २० गते, काठ्माडौं । पछिल्लो समय नेपालका राष्ट्रिय फुटबल खेलाडी भविष्य खोज्दै अस्ट्रेलिया जाने क्रम बढेको छ । यो वर्ष मात्रै राष्ट्रिय टिमबाट खेलेका ६ खेलाडी अस्ट्रेलिया गइसकेका छन् । जसमा फरवार्ड विमल राना पनि थपिएका छन् ।
विमल शुक्रबार अस्ट्रेलिया पुगेका छन् । उनी अस्ट्रेलियाको सिड्नी एयरपोर्टमा पुगेको भिडिओ अर्का पूर्वराष्ट्रिय खेलाडी विमल बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
बस्नेतले अस्ट्रेलिया जानुअघि मनाङ मर्स्याङ्दी क्लबबाट खेलेका थिए । डिफेन्डर बस्नेत हाल त्यहाँको स्थानीय सगरमाथा फुटबल क्लबबाट खेलिरहेका छन् । लामो समय मनाङबाट खेलेका विमल रानाले दुई सिजनअघि ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग खेलेका थिए ।
विमलले २०७५ चैतमा राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । उनले कुवेतसँगको मैत्रीपूर्ण खेलका दौरान राष्ट्रिय टिमका डेब्यूको अवसर पाएका थिए । नवयुग श्रेष्ठको स्थानमा ७४ मिनेटमा मैदान छिर्दै विमलले डेब्यूको अवसर पाएका थिए । मनाङ मर्स्याङ्दीबाट उनले एएफसी कपको छनोट चरण पनि खेलेका थिए ।
गत महिना तीन जना राष्ट्रिय फुटबलर अस्ट्रेलिया पुगेका थिए । फरवार्ड दर्शन गुरुङ, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर नवीन गुरुङ अस्ट्रेलियाको मेलवर्न पुगेका थिए । तीनै जना मेलवर्नको युनाइटेड एफसीमा आबद्ध भएर एमसीएसए प्रिमियर लिग २०२२ खेलिरहेका छन् ।
यसअघि सुमन लामा र आसिष लामा पनि अस्ट्रेलिया पुगेका थिए । त्यहाँको स्थानीय टिमबाट फुटबल खेलिरहेका सुमन र आसिष अघिल्लो वर्षसम्म राष्ट्रिय टिममा महत्वपूर्ण खेलाडी थिए । तीन वर्षअघि मिडफिल्डर हेमन गुरुङ र गोलकिपर एनल न्यौपाने अस्ट्रेलिया गएका थिए ।