बेलबारी गोल्डकपमा पहिलो खेलबाटै भारत बाहिरियो - SportsNepal07

बेलबारी गोल्डकपमा पहिलो खेलबाटै भारत बाहिरियो

बेलबारी । पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै भारतको एमएम एफसी वेष्ट बंगाल बाहिरिएको छ ।

मोरङको बेलबारी –११ लक्ष्मीमार्गमा बुधबार भएको खेलमा सिरहाको सहलेस युथ क्लबसँग ३–१ गोल अन्तरको पराजय बेहोर्दै भारत प्रतियोगिताबाट बाहिरिएको हो । आत्मघाती गोलका कारण लिएको सुरुवाती अग्रता जोगाउन नसक्नु भारतका लागि दुर्भाग्यपूर्ण बन्यो ।

विदेशी पाहुना टोली भारतलाई निराश बनाउँदै सिरहा भने प्रतियोगिताको क्वाटरफाइलनमा प्रवेश गरेको छ । खेलको ३० औँ मिनेटमा भारतले आत्मघाती गोल खाएका थिए । तर त्यसलाई पहिलो हाफसम्म मात्रै जोगाउन सक्यो ।

भारतका सत्यम शर्माले गरेको प्रहारलाई क्लियर गर्न नसक्दा सिरहा दबाबमा पर्यो । सत्यमको प्रहारलाई क्लियर गर्ने क्रममा सिरहाका खेलाडी असफल भए । बलले सिरहाको पोस्ट चुम्दा भारत १–० गोल अन्तरले अघि बढ्यो ।

४०–४० मिनेटको खेलको पहिलो हाफ १–० गोल अन्तरमा सकियो । जित निकाल्ने क्रममा सिरहाका लागि ३ वटै गोल मध्यान्तरपछि मात्रै सम्भव भयो । विदेश खेलाडी फोडे फोफोनाले ४१ औँ मिनेटमा गरेको गोलमार्फत सिरहा खेलमा फर्किएको हो ।

उनले दर्शनीय गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए । ४७ औँ मिनेटमा सिरहाका दिनेश हेन्जनले खेललाई २–१ को अवस्थामा पुर्याए । फ्रिकिकबाट रिबाउण्ड भएको बललाई उनले पोष्टको दिशा दिँदा सिरहा अघि बढ्यो ।

सिरहाका फोडे फोफोनाले ७८ औँ मिनेटमा टिमको जित निश्चित गराए । वेष्ट बंगालका समीर प्रधानले फल गरेपछि पाएको फ्रिकिकलाई सदुपयोग गर्दै उनले सिरहालाई ३–१ अन्तरको जित दिलाए । एक्लै २ गोल गरेका फोडे खेलको म्यान अफ दी म्याच घोषित भए । बिहीबार झापाको रोलिङ क्लब धुलाबारी र आयोजक डाँगीहाट युथ क्लबबीच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर