१७ कात्र्तिक, पथरी । पथरी शनिश्चरे नगरमा ‘अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको तेस्रो दिनको खेलमा पाँचथर फुटबल क्लव विजयी भएका छन ।
सोमबार भएको खेलमा संकटा क्लव काठमाडौंलाई ०–१ ले हराउँदै पाँचथर फुटबल क्लव(फिदिम) सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको दुई मिनेटमै पाँचथरका विशाल घलानले निर्णायक १ गोल गरेका थिए । घलानले क्याप्टेन रोशन आङ्म्वेको पासमा गोल गरेका थिए ।
खेलमा धेरै अवसरहरु पाएपनि गोल गर्न नसक्दा गत बर्षको उपविजेता टोली संकटा काठमाडौं पहिलो चरणबाटै बाहिरिएको छ । खेलमा सामान्य विवादका कारण दुबै टिमका ४÷४ खेलाडीले पहेलो कार्ड पाएका थिए । पाँचथरका निरज कार्की, मौसम सुब्बा, आशिश चापागाई र दिनेश हेमजनले पहेलो कार्ड पाउदा संकटाका विदेशी खेलाडी मल्लिक, निङ्मा घिसिङ, सुजन चापागाई, सुजन मगरले पहेलो कार्ड पाएका छन ।
खेलको म्यान अफ दि म्याच पाँचथरका विषाल घलान घोषित भए । उनले नगद ५ हजार र ट्रफी पुरस्कार स्वरुप प्राप्त गरे । भोलीको खेल न्युरोड टिम एनआरटि र झापा ११ बीच हुनेछ ।
प्रतियोगिता कार्तिक २२ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगर ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद, नगद र ट्रफी प्राप्त गर्ने छ ।




