
पुस १२ गते, पथरी । २२ औं संस्करण बुढासुब्बा गोल्डकपको विजेता भएवापत पाउनु पर्ने रकम नपाएको पछि मनाङ मर्स्याङ्दी क्लबले अखिल नेपाल फुटबल संघ एन्फामा उजुरी दिएको छ ।
सुनसरीको धरान स्थित धरान फुटबल क्लबले आयोजना गरेको बुढासुब्बा टुबोर्ग गोल्डकपको विजेता बनेको मनाङ मर्स्याङ्दी क्लबले विजेताको रकम नपाएको भन्दै एन्फामा उजुरी दिएको हो ।
२०७६ साल फागुनमा भएको २२ औं सस्करणमा विजेता भएवापत पाउनु पर्ने सात लाख रुपैयाँ नपाएको भन्दै धरान फुटबल क्लबविरुद्ध मनाङले उजुरी दिएको मनाङले जनाएको छ ।
बुढासुब्बा गोल्डकपको २२ औं संस्करण २०७६ साल फागुन १० देखि १७ गते सम्म धरानमा भएको थियो । सो प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब बिजयी भएको थियो । सो प्रतियोगितामा विजेताले पाउनु पर्ने सात लाख रुपैयाँ नपाएको उजुरीमा उल्लेख छ ।
मनाङले दिएको उजुरीमा आगामी पुष २३ गतेदेखि पोखरामा हुने आहा रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबलाई सहभागी हुन नदिन उल्लेख छ ।
उजरीमा भनिएको छ अखिल नेपाल फुटबल संघद्वारा मान्यता प्राप्त फुटबल प्रतियोगितामा पुरस्कार रकम वितरण नभई कुनै पनि प्रतियोगितामा सहभागी हुन नपाउने व्यवस्था अनुसार धरान फुटबल क्लबलाई सहभागी नहुने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
