नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशन विराटनगरमा हुने - SportsNepal07

नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशन विराटनगरमा हुने

पुस १५ गते, विराटनगर । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासँघको दोस्रो राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ ।
फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने हुनुभएको छ । महासंघका अध्यक्ष पर्शुराम बस्नेतका अनुसार महाअधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको तयारी सुरु भएको जानकारी दिँदै बस्नेतले यो महाधिवेशन समग्र खेल क्षेत्रमा लाग्नेहरुको लागि उत्सवको रुपमा रहने बताए ।
उनले महाधिवेशनको उद्घाटन १० हजार भन्दा बढीको सहभागितामा आमसभाका रुपमा गरिने भन्दै बन्द सत्रमा समेत करिब ६ सय प्रतिनिधि, पर्यवेक्षक तथा खेलक्षेत्रका अगुवालगायतका १ हजार भन्दा बढीको सहभागिता हुने जानकारी दिए । खेल क्षेत्रलाई महत्व दिने पार्टी नेकपा एमाले नै रहेको भन्दै उनले खेलकुद महासँघले खेलकुदको प्रवर्धन गर्दै खेलाडिहरुको हितका लागि नीति निर्माणमा पार्टीलाई दवाव दिने र यस क्षेत्रको समग्र विकासका लागि प्रयत्न गर्ने मुख्य उद्देश्य रहेको बताए ।
यसैबिच महाधिवेशनलाई भब्य र सभ्य बनाउनका लागि नेकपा एमाले मोरङले समेत सहयोग गर्ने निर्णय गरेको छ । हिजो बसेको पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकले महाधिवेशनलाई भव्य बनाउन सहयोग गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर