सनम रोक्का
२८ असोज, कानेपोखरी । मोरङको कानेपोखरी ४, स्थित खोरियामा जारी दोश्रो खोरिया खुल्ला नकआउट फुटबल प्रतियोगिताको शनिबारको खेलमा केचना एफसी सुनवर्शीले जित निकालेको छ ।
दोस्रो दिनको खेलमा केचना एफसीले नवप्रतिभा युवा क्लब कानेपोखरीलाई ३–१ को गोल अन्तरले हराउँदै जित निकालेको हो ।
खेलको ५ औं मिनेटमा केचनाका लागि वान एन वान बल अघि बढाउदैँ भुवन बस्नेतले पहिलो आकर्षक गोल गरेका थिए । पहिलो हाफमा नव प्रतिभा क्लबलाई दवाबमा राखेपनि अन्य गोल गर्न भने सकेन । पहिलो हाफ १–० गोल अन्तरमा सकियो ।
दोश्रो हाफको ९ औं मिनेटमा कर्नर किकको सदुपयोग गर्दै केचनाका लागि योङ खालिङले दोश्रो अग्रता बनाए । त्यसको केही समय बित्न नपाउँदै केचनाका गोलकिपर समिर क्षेत्री अघि बढेको मौका छोपेर खेलको १६ औं मिनेटमा नवप्रतिभाका निखिल धिमालले गोल गर्दै खेललाई २–१ मा पु¥याए । त्यसलगत्तै ५ मिनेटपछि २१ औं मिनेटमा केचनाका लागि भुवन बस्नेतले दोश्रो गोल गर्दै खेलको अन्तर ३–१ बनाए ।
बाँकी समय सम्ममा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल केचना एफसीले ३–१ को अन्तरले जित्यो । खेलको म्यान अफ दि म्याच केचनाका भुवन बस्नेत घोषित हुँदै ११ सय रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरे ।
भोली सोमबार तेश्रो दिनको खेलमा प्रगतिशील समाज सेवा एफसी कानेपोखरी र सिशौली एफसी बेलवारीका बिच हुने आयोजकले जानकारी दिए ।
मातृभूमि समाज सेवा युवा क्लबको अयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता कार्तिक ४ गते समापन हुने छ ।
खेलमा प्रथम हुनेले ४१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र र दोस्रो हुनेले २१ हजार, ट्रफी, मेडल प्राप्त गर्ने छन् ।