एनपीएल–फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।
पहिलो पटक फ्रेन्चाइज लिगमा ८ टिम सहभागि, टीयू मैदानमा विभिन्न खालका सुविधा, करोडौँ लगानी देखि स्टार विदेशी खेलाडीको आगमनले एनपीएले सुरु हुनु अघि नै निकै ठूलो हाइप पाइसकेको छ ।
सहभागि टिम र खेलाडीहरुका साथै लगानीकर्ता अनी क्रिकेटका क्रेजी समर्थकहरु आज देखि हुने एनपीएलका लागि तयार छन् र निकै उत्सहित भएर बसेका छन् ।
आयोजक नेपाल क्रिकेट संघले दुई वर्षअघि नेपाल टी २० लिग गरेपनि त्यसलाई निरन्तरता दिन सकेन र नयाँ शैलीमा एनपीएल आयोजना गर्न लागेको जनाइसकेको छ ।
उद्घाटन खेलका लागि तयार किंग्स र बोल्ट्स
एनपीएलको पहिलो संस्करणको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । त्यसअघि टीयू मैदानमा उद्घाटन समारोह हुने छ ।
विराटनगर किंग्सको कप्तानी लेगस्पीनर सन्दीप लामिछाने र जनकपुरको कप्तानी टप अर्डर ब्याटर अनिल शाहले गर्नेछन् ।
सन्दीप विराटनगरका मार्की खेलाडी पनि हुन् । जनकपुरको मार्की आसिफ शेख हुन् तर अनिललाई कप्तान चयन गरेको हो । जनकपुरले मात्र मार्की बाहेक फरक खेलाडी कप्तान बनाएको हो ।
किंग्स र बोल्ट्स दुवै जितसहित लिग सुरु गर्ने लक्ष्यमा छन् ।
दुवै टोद्यीमा विदेशी खेलाडीहरुको राम्रो साथ छ । विराटनगर किंग्समा विश्व चर्चित ब्याटर मार्टिन गप्टिलसहित ओमानका आकिब इल्यास, क्यानडाका निकोलस किर्टोन र स्कटल्याण्डका क्रिस सोल छन् । पहिलो खेलमा यही चार जना खेल्नेछ ।
यस्तै जनकपुरको टिममा न्युजलियाण्डकै अलराउण्डर जिम्मी निसम देखि पाकिस्तानका मोहम्मद मोहसिन, अमेरिकन लाहिरु मिलान्था र जोसुअ ट्रोम्प, इंग्ल्याण्डका बेन माइक र क्यानडाका अलराउण्डर हर्श थाकेर छन् । निसम र ट्रोम्प बाहेक बाँकी चार खेलाडी नेपाल आइसकेका छन् र पहिलो खेलमा स्पीन अलराउण्डर मोहसिन, टप अर्डर ब्याटर लाहिरु तथा अलराउण्डरद्वय बेन र थाकेर खेल्नेछन् ।
एनपीएलमा हरेक टिमले चार खेलाडी पहिलो रोजाईँमा खेलाउनुपर्नेछ । टिममा भने ६ जना सम्म विदेशी खेलाडी राख्न पाउनेछ । नाम चलेका स्टार विदेशी खेलाडीहरु आउँदा नेपालका युवा खेलाडीहरुका लागि सिक्ने अवसर हुनेछ ।