३० असोज, मोरङ । कानेपोखरी–७ स्थित पच्चिस विघेमा “प्रथम पच्चीस विघे कप–२०८२“ सुरुभएको छ । उद्घाटन खेलमा सिसौली एफसी, उर्लाबारीले विजयी सुरुवात गरेको छ ।
बुधबार भएको प्रतियोगितामा यलम्बर एफसी, पथरीलाई ३–० गोल अन्तरले हराउँदै सिसौली एफसी, उर्लाबारीले अग्रता हात पारेको हो ।
खेलको पहिलो हाफमा सिसौलीका लागि सुरेन मगरले गोल गर्दै खेललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो गोल भएको केही मिनेटमै कप्तान महेश लिम्बूले आफ्नो टिमका लागि दोश्रो गोल गरेर २–० को अग्रता लिएसँगै पहिलो हाफ समाप्त भयो ।
त्यसैगरी, खेलको दोश्रो हाफमा पुनः सिसौलीका लागि थप एक गोल सुरेन मगरले थपेका थिए । खेलमा सिसौली एफसी, उर्लाबारीले ३–० को अग्रता सहित जित निकाल्यो । खेलको म्यान अफ दि म्याच सिसौलीका दुई गोलकर्ता सुरेन मगर घोषित हुँदै ट्रफी र ११ सय रुपैयाँ नगद प्राप्त गरे ।
खेलको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले बल हस्तान्तरण गरेर खेल उद्घाटन गरेका थिए । कार्यक्रममा शुभकामना व्यक्त गर्दै उपाध्यक्ष अधिकारीले खेलले व्यक्तिको शारीरिक, मानसिक र व्यवहारमा परिवर्तन गर्न सहयोग मात्र नपु¥याई यसले आफ्नो र राष्ट्रको नामलाई समेत देश तथा विदेशमा परिचीत बनाउन सहयोग पु¥याउने बताए । देश अहिले विषम परिस्थितिमा भएपनि पालिकाले केही समयपछि यस प्रतियोगिताका लागि सामान्य आर्थिक सहयोग समेत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, वडा नम्वर ७ का वडाअध्यक्ष मोहनप्रसाद अधिकारी, सदस्य जीवन लिम्बू, स्थानिय समाजसेवी, आयोजक क्लबका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमको संचालन आयोजक क्लबका कोषाध्यक्ष गोविन्द दाहालले गरेका थिए । कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष ज्ञानेन्द्र सम्वाहम्फेले गरेका थिए ।
प्रतियोगितामा यलम्बर एफसी पथरी, सिसौली एफसी उर्लाबारी, एलाई स्पोर्टस नेपाल केराबारी, द वोइज क्लब नेपाल लेटाङ, फुलबारी एफसी पथरी, ब्रोदर एफसी मिक्लाजुङ, बेलबारी एफसी बेलबारी र आयोजक नव स्पोर्टिङ्ग युथ क्लब गरी जम्मा ८ वटा टिमले खेलमा सहभागि हुने क्लबका कोषाध्यक्ष गोविन्द दाहालले बताए । खेल कार्तिक ५ गते समापन हुनेछ । खेलको आयोजना नव स्पोर्टिङ युथ क्लबले गरेको हो ।
खेल ९ साइजको हुने र खेलमा प्रवेश शुल्क ५ हजार रहेको छ । खेल २ बजे सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार रुपैयाँ र दोश्रो पुरस्कार २५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
खेल अवधीभरिबाट समापनको दिन सर्वोउत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, राइजिङ प्लेयर जस्ता विद्यागत पुरस्कार गरिने आयोजकले बताए ।
आजको दोश्रो खेल फुलबारी एफसी र ब्रदर्श एफसीका बीच खेल हुने आयोजनकले जनाएको छ ।




