
१३ कात्र्तिक, मोरङ । दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
पथरी–११ फुटबल क्लबको आयोजनामा हुने गोल्डकप पथरी शनिश्चरे–१ स्थित रंगाशालामा कात्र्तिक १५ सुरुभएर २२ गते शनिबार समापन हुनेछ ।
मंगलबार ट्रफी प्रर्दशन र खेलको टाईसिट सार्वजनिक गरेका थिए । पथरी शनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन प्रसाद तुम्बापोले प्रथम र दोस्रो ट्रफी सार्वजनिक गरेका थिए ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरेको क्लबका अध्यक्ष सुमन विकले बताए ।
प्रतियोगितामा आयोजक टिमसहित नेपाल र भारतका गरी ८ टिमले खेल्ने भएका छन् । प्रतियोगितामा पाँचथर क्लब फिदिम, झापाको झापा ११ फुटबल क्लब, सिराहाको सलहेश युवा क्लब, काठमाडौंको संकटा क्लब, एनआरटी फुटबल क्लब, ललितपुरको बिग्रेड ब्वाइज क्लब, भारत सिलिगुडीको कञ्चनजंघा फुटबल क्लब र आयोजक इन्ट्रा पथरी ११ फुटबल क्लबले प्रतिस्पर्धा गर्ने भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा सलहेश युवा क्लब र भारत सिलिगुडीको कञ्चनजंघा फुटबल क्लब बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले ५ लाख, ट्रफी, मेडल र प्रमाण–पत्र र उपविजेता टिमले २ लाख ५० हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । प्रत्येक खेलमा म्यान अफ द म्याच, खेल अवधिभर उत्कृष्ट खेलाडी, गोलरक्षक, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने आयोजकले बताए ।




