काठमाडौं, ३० चैत्र ।
महाप्रकोपका रूपमा विश्वभर फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) रोगको संक्रमणबाट विभिन्न मुलुकमा रहेका १४ जना नेपालीको मृत्यु भएको खबर छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट प्राप्त जानकारी अनुसार कोरोना संक्रमणका कारण बेलायतमा सबैभन्दा बढी आठ जना, अमेरिकामा पाँच जना र दुवईमा एक जना नेपालीको मृत्यु भएको हो ।
एनआरएनएका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठन भएको उच्चस्तरीय समिति मातहतको स्वास्थ्य समितिबाट जारी तथ्याङ्कमा विदेशमा रहेका १४ जना नेपालीको ज्यान गएको उल्लेख छ ।
समितिका संयोजक डा सञ्जीव सापकोटाले दिएको जानकारी अनुसार विभिन्न मुलुकमा रहेका नेपालीहरु मध्ये हालसम्म ६६५ गैरआवासीय नेपालीहरु कोरोना संक्रमणमा परेका छन् ।
संक्रमित हुनेहरुमा अमेरिकामा पाँच सय, बेलायतमा एक सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा चार, पोर्चुगलमा आठ, अष्ट्रेलियामा नौ, साउदी अरेबियामा चार, कुवेतमा पाँच, जापान, मलेसिया, म्यानमार र हङकङमा एक–एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको एनआरएनएले जनाएको हो ।