
फागुन ५ गते, उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा तेस्रो उर्लाबारी मेयर कप फुटबल प्रतियोगिता फागुन १५गतेदेखी हुने भएको छ ।
उर्लाबारी फुटबल क्लबले विहिबार उर्लाबारीमा पत्रकार सम्मेलनको आयोजनागरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । प्रतियोगितामा उर्लाबारी नगरका ९ वटै वडाको सहभागिता रहने आयोजनकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल फागुन २१ गते हुने खेल संयोजक विशाल तामाङले बताए ।
उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा हुने प्रतियोगिताको विजेता टिमले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख १५ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छ । प्रतियोगिताको मुख्य प्रायोजक उर्लाबारी नगरपालिका रहने र खेल सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक क्लबका सचिव भीष्म बुढाथोकीले बताए ।
प्रतियोगितामा साफ प्रतियोगितामा च्याम्पियन बन्न सफल नेपाली फुटबल टोलीका सदस्य उर्लाबारी निवासी मिक्चेन तामाङ र साफ च्याम्पियनमा महिलातर्फ रजत पदक विजेता टोलीकी कविता धिमाललाई नगद सहित सम्मान गरिने भएको छ ।
तामाङलाई ७५ हजार र धिमाललाई ५० हजार सहित सम्मान गरिने क्लबका कार्यवाहक अध्यक्ष सुब्रत अधिकारीले बताए ।
यस्तै, उर्लाबारी घर भई राष्ट्रिय टिममा स्थान बनाउन सफल फुटबल खेलाडीहरु विजय धिमाल र रजिन धिमाललाई पनि नगद सहित सम्मान गरिने क्लबले जनाएको छ । पत्रकार सम्मेलनकै अवसरमा प्रत्येक वडाका जनप्रतिनिधिको रोहबरमा लट्री गरी टाइसिट तयार गरिएको छ ।
प्रतियोगिताको उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन उर्लाबारी वडा नं. ६ र वडा नं. ३ बीच हुने भएको छ । पत्रकार सम्मेलनमा क्लबका वडा नं. ४ का वडाध्यक्ष लक्ष्मीनारायण धिमाल, वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, क्लबका कोषाध्यक्ष योगराज फागो लगायतको उपस्थिति रहेको थियो ।