
फागुन २३ गते, उर्लाबारी । तेस्रो उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नं. ६ ले जितेको छ । सोमबार भएको सम्पन्न फाइनल खेलमा वडा नं. ७ लाई ३–२ गोल अन्तरले पराजित गर्दै वडा नं. ६ दोस्रो पटक मेयर कपको च्याम्पियन बनेको हो । पहिलो मेयर कपको उपाधि वडा नं. ५ ले जितेको थियो भने दोस्रोको वडा नं. ६ ले जितेको थियो ।
वडा नं. ६ लाई उपाधि जिताउन एकराज गिरी, मिलन धिमाल र जंगबहादुर खड्काले गोल गरेका थिए । वडा नं. ७ का सोनाम इङ्नामले दुई गोल गरेका थिए । उपाधिसँगै वडा नं. ६ ले नगद १ लाख ७५ हजार र उपविजेता वडा नं. ७ ले नगद १ लाख १५ हजार सहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो पुरस्कार प्रदान गरे ।
फाइनल खेलको म्यान अफ दि म्याच वडा नं. ७ का सुरेश राई घोषित भए । साथै, विधागत उपाधिमा वडा नं. ६ ले वर्चश्व कायम गरेको छ । वडा नं. ६ का एकराज बुढाथोकी सर्वोत्कृष्ट खेलाडी, धिरज चौधरी उत्कृष्ट गोलकिपर, कमल घिमिरे उत्कृष्ट डिफेन्डर, रोवट घिमिरे उत्कृष्ट मिडफिल्डर, स्माइल लिम्बू उत्कृष्ट प्रशिक्षक घोषित भए ।
यस्तै, वडा नं. ७ का सोनाम इङ्नामले उत्कृष्ट स्ट्राइकरको उपाधि पाए । प्रतियोगितामा ३÷३ गोल गर्न सफल भएका वडा नं. ७ का सोनाम इङ्नाम र वडा नं. ६ का जंगबहादुर खड्का सर्वाधिक गोलकर्ता बने । वडा नं. ५ का विशाल राई उदयमान खेलाडी घोषित भए । विधागत उत्कृष्ट भएको खेलाडीले जनही ५ हजार नगदसहित ट्रफी प्राप्त गरे ।
उनीहरुलाई उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, वडा नं. ७ का वडाध्यक्ष वीरबल थापा, नेपाली काँग्रेस उर्लाबारीका सभापति सुरेन्द्र लिम्बू लगायतले पुरस्कार प्रदान गरेका थिए । उर्लाबारी फुटबल क्लबको आयोजनामा गत फागुन १५ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो ।