फागुन २५ गते, झापा । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा संकटा क्लब काठमाडौँ प्रवेश गरेको छ । मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५ औँ मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले जाली चुम्यो । संकटाले पहिलो हाफ १–० को अग्रता बनाएको थियो । संकटाले दोस्रो हाफको खेलको ६३ औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे ।
थ्री स्टारले भने सान्तवना गोल समेत फर्काउन सकेन । खेलमा थ्री स्टारले पाएका अवसर सदुपयोग गर्न सकेन । मंगलबारको खेलको प्लेयर अफ द म्याच संकटाका गोलरक्षक रोहित कार्की भए । उनले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाए ।
आज बुधबारको क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एम एफसीबीच हुने आयोजकका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।