पाँचौं झापा गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा - SportsNepal07

पाँचौं झापा गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

फागुन २६ गते, बिर्तामोड । पाँचौं झापा गोल्ड कपको सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब प्रवेश गरेको छ । बुधबार भएको खेलमा भारत दार्जिलिङको एम एफसीलाई ३–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलमा प्रवेश गरेको हो ।

आर्मीका लागि खेलको १० औँ मिनेटमा सन्तोष तामाङले पहिलो गोल र ३५ औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले अर्को गोल थपेका थिए । उनले २३ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भयो । त्यसैगरी, खेलको ६८ औँ मिनेटमा आर्मीका विकास तामाङ अर्को गोल थपेर जित सुनिश्चित गरे ।

खेलको सुरुवाती १९ औँ मिनेटमा एम एफसीका रोवर्ट खोन्जोले मैदानको मध्यभागबाट एकल प्रयासमा गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ५२ औँ मिनेटमा एम एफसीकै आदर्श तामाङले डिएरियाबाट गरेको हेडर पोस्ट माथिबाट बाहिरियो ।
६५ औँ मिनेटमा आर्मीका विवेक बस्नेतको पासमा कमल थापाले डिएरियाबाट गरेको हेडर बार नजिकैबाट बाहिरयो । ७८ औँ मिनेटमा एम एफसीका कप्तान प्रतीक लामाको क्रस पास रोबर्ट खोन्जोले सदुपयोग गर्न सकेनन् । ८६ औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठको कडा प्रहर विपक्षी गोलरक्षक कुन्जाङ भुटियाले नियन्त्रणमा लिए ।

बुधबारको खेलको प्लेयर अफ दि म्याच आर्मीका विकास तामाङ भए । उनले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाए । विहिबारको खेल घरेलु टोली झापा–११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर