झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीले चुम्यो - SportsNepal07

झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीले चुम्यो

फागुन ३० गते, झापा । पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबल जितेको छ ।

सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । जीतसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त गरेको छ भने उपविजेता झापाले नगद ६ लाख पाँच हजार रुपैयाँ प्राप्त गरेको छ । आर्मीले योसँगै चौथोपटक झापा गोल्डकपको उपाधि हात पारेको हो ।

प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ झापाका डिफेन्डर देबेन्द्र तामाङ

आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेका थिए । फाइनल खेलको १८ औँ मिनेटमा सुमन अर्यालको पासमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । अर्को गोल २१ औँ मिनेटमा जर्जप्रिन्स कार्कीले गरेका थिए । मैदानको मध्यभागबाट पेनाल्टी एरियामा पाएको बललाई गोलरक्षक अघि बढेको मौकामा गोल गरे ।

३ मिनेट भित्र २ गोल खाएको झापाले त्यसपछि खेल नियन्त्रणमा लियो । उसले दोस्रो गोल खाएको ३ मिनेटमा एक गोल फर्कायो । झापाका विमल घर्तीमगरले हेडमार्फत गोल गरे । शिवे उल्रिचको क्रसमा उनले गोल गर्दै आर्मीसँग गोलअन्तर घटाए ।

फाइनल खेलको म्यान अफ द म्याच टेकबहादुर बुढाथोकी भए । उनले ९ हजार ९ सय ९९ रुपैयाँ पाए । पुरस्कारको प्रायोजन युवा व्यवसायी श्याम प्रसाईंले गरेका हुन् ।

प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ झापाका डिफेन्डर देबेन्द्र तामाङ भए । उनले यामाहा कम्पनीको एक थान मोटरसाइकल पाए । गोल्डकपको सर्वाधिक गोलकर्ता विमल घर्तीमगर हुँदै नगद २५ हजार प्राप्त गरे । उनले प्रतियोगितामा खेलेका तीन खेलमा पाँच गोल गरेका थिए । प्रतियोगिताको बेस्ट डिफेन्डर झापाका मनोज राई, बेस्ट मिड फिल्डर झापाकै आन्दे्रस निया, बेस्ट किपर आर्मीका विकेश कुथु र वेष्ट कोच आर्मीका नवीन न्यौपाने घोषित भए । उनीहरुले जनही २१ हजार रुपैयाँ पाए ।

प्रतिक्रिया:

सम्बन्धित खवर