चैत २ गते, दमक । झापामा दमक गोल्डकप प्रतियोगिता हुने भएको छ । चैत ९ देखि १८ गतेसम्म दमकमा ‘दमक गोल्डकप फुटबल प्रतियोगिता २०७८’ हुने भएको हो ।
दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेका दमक गोल्डकप बारे मंगलबार झापाको दमकमा सम्मेलन गरी जानकारी गराएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को सेड्यूल अनुसार गोल्डकप आयोजना गर्न लागेको दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीमराज चौलागाईंले जानकारी दिए । गोल्डकपमा ‘ए’ डिभिजनका ५, विदेशी तीन सहित १० टिमको सहभागिता रहने उनले बताए ।
गोल्डकपमा लिग विजेता मच्छिन्द्र, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, फ्रेन्डस् क्लब, वाग्मती क्लब सर्लाही, आयोजक दमक–११, भारतको मानेभञ्ज्याङ फुटबल क्लब, दुर्गापुर स्टील कोलकात्ता र एमेनियर फुटबल क्लब क्यामरुन सहभागी हुने चौलागाईंले जानकारी दिए ।
गोल्डकपको विजेता टिमले १३ लाख ११ हजार तथा उपविजेता टिमले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
गोल्डकपमा विधागततर्फ ७ जना खेलाडीलाई पुरस्कृत गर्ने नगर फुटबल समितिका अध्यक्ष मोहन मगरले जानकारी दिए । उनका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइनेछ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने मगरले बताए ।
गोल्डकपका खेलहरू दमक नगरपालिका ३ दुम्सेमा प्रस्तावित मदन भण्डारी रंगशालामा हुनेछन् । गोल्डकपका लागि अहिले मैदान सम्याउने, प्यारापिट निर्माणलगायत काम भइरहेका छन् ।
गोल्डकप सम्पन्न गर्न एक करोड २५ लाख रुपैयाँ खर्च लाग्ने चौलागाईंले बताए । स्थानीय तहको निर्वाचनपछि दमक नगरपालिकाले २०७५ मा दमक गोल्डकप आयोजना गरेको थियो । त्यसपछि कोभिडलगायत कारणले गोल्डकप नियमित हुन नसकेको चौलागाईंले बताए ।