
साउन १७ गते, काठ्माडौं । साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि भारत र बंगलादेश फाइनलमा पुगेको छ ।
मंगलबार राति भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा घरेलु टिम भारतले माल्दिभ्सलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का ग¥यो । भारतको जितमा खेलको अन्तिम मिनेटमा गुरकिरत सिंहले गोल गरेका थिए ।
यसअघि नेपालसँग १–१ गोलको बराबरी खेलेको बंगलादेशले पनि फाइनलमा स्थान पक्का गरेको थियो । भारतले अन्तिम खेलमा जित हात पारेसँगै नेपाल भने फाइनल पुग्नबाट बन्चित भयो । भारत पराजित भएको अवस्थामा मात्र नेपाल फाइनल पुग्ने समिकरण थियो ।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० र दोस्रो खेलमा श्रीलंकालाई ३–० गोलले पराजित गरेको थियो । तर तेस्रो खेलमा आयोजक भारतसँग ८–० गोलले पराजित हुँदा नेपालको फाइनल पुग्ने सम्भावना कठिन भएको थियो ।
अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेको नेपालले ७ अंक जोड्यो । शीर्ष स्थानको बंगलादेशले १० अंक जोड्यो भने दोस्रो स्थानको भारतले ९ अंक बटुल्यो । पाँच टिम सहभागी प्रतियोगिताको समूह चरणका शीर्ष दुई टिम फाइनलमा पुग्ने प्रावधान थियो ।