भदौ ३१ गते, काठमाडौं । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
पाँच पटकको च्याम्पियन भारतलाई १–० गोलले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । नेपाल यससँगै महिला साफमा पाँचौपटक फाइनलमा पुग्यो । यसअघि चार पटकको फाइनलमा भने नेपाल पराजित हुँदा उपाधि विमुख भएको थियो ।
नेपालका लागि पहिलो हाफको इन्ज्युरी समयमा रश्मिकुमारी घिसिङले गोल गरिन् । उनले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्र भित्र संयमित भएर नियन्त्रणमा लिँदै गोल गरिन् ।
त्यसअघि २३औं मिनेटमा अन्जु तामाङको क्रसमा दाङमेइ ग्रेसको प्रहार सटिक हुन सकेन । लगत्तै अर्कोतर्फ गिता रानाको फ्रिकिक पोस्टबाट निकै टाढा गयो ।
३३ औं मिनेटमा प्रिती राईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । लगत्तै भारतले डिफेन्समा गम्भीर गल्ती गरेपनि नेपालले फाइदा उठाउन सकेन । रन्जना चानुको ब्याकपास गोलरक्षक अदिति चौहानले मिस गरेपनि नेपाली फरवार्डले बल क्लियर हुनुअघि त्यहाँसम्म पुग्न सकेनन् ।
४२ औं मिनेटमा सोम्या गुगुलोथको क्रसमा ग्रेस चिप्लिन पुग्दा उनको प्रहार पोस्टतर्फ जान सकेन । इन्ज्युरी समयमा नेपालले गोल गर्दै अग्रता लिन सफल भयो ।
दोस्रो हाफको ५० औं मिनेटमा अनिता केसीको कर्नरमा अमृता जैसीको हेडर गोलरक्षक अदितिले बचाइन् । लगत्तै अर्को कर्नरमा आएको रिबाउन्डका प्रितिको प्रहार पोस्टमा लागेर फर्कियो ।
५७ औं मिनेटमा रश्मीको प्रहार फितलो रहँदा गोलरक्षक अदितिले सहजै बचाइन् । लगत्तै रश्मीको अर्को प्रहार अदितिले दोस्रो प्रयासमा बचाइन् ।
६४ औं मिनेटमा प्रिती राईको एकल प्रयास सफल हुन् सकेन । उनले दुई डिफेन्डरको चुनौती चिर्दै गरेको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो ।
७६ औं मिनेटमा सौम्याको प्रहारलाई गोलरक्षक एन्जिलाले बचाइन् । ८३ औं मिनेटमा सौम्याको क्रसमा ६ यार्ड बक्सभित्र बल क्लियर नहुँदा भारतले गोल फर्काउने अवसर पाएको थियो । तर नेपाली डिफेन्सले दोस्रो प्रयासमा बल क्लियर गर्दै खतरा टार्यो ।
यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । भुटानलाई ८–० हराउँदै बंगलादेश दोस्रो पटक फाइनलमा पुगेको हो ।