
फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘ए’ मा नेदरल्यान्ड्स समूह विजेता तथा सेनेगल उपविजेता बन्दै अन्तिम १६ मा पुगेका छन् ।
मंगलबार राति भएको समूहको खेलमा दुवै टिम आ–आफ्ना खेल जित्दै अन्तिम १६ मा पुगेका हुन् ।
जितसँगै नेदरल्यान्ड्सले समूहमा ७ अंक जोड्दा सेनेगलले ६ अंक जोड्यो। इक्वेइडर ४ अंक जोडे पनि बाहिरियो भने आयोजक कतार तीन वटै खेल हार्दै बाहिरिन बाध्य भयो ।
मंगलबार नेदरल्यान्ड्सले कतारलाई २–० गोल र सेनेगलले इक्वेइडरलाई २–१ ले हराए । नेदरल्यान्ड्सका लागि कोडी गाप्कोले २६ मिनेट र डे जोङले ४९ मिनेटमा गोल गरेका थिए ।
यता सेनेगलले भने ४४ मिनेटमा सारको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । तर ६७ मिनेटमा इक्वेइडरका काइसेडले बराबरी गोल फर्काए । तीन मिनेटपछि सेनेगलका लागि काउलबालीले गोल गर्दै सेनेगललाई दोस्रो पटक अग्रता दिलाएका थिए ।