इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश, इरान र वेल्स समूह चरण बाटै बाहिरिए - SportsNepal07

इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश, इरान र वेल्स समूह चरण बाटै बाहिरिए

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी बाट समूह विजेता बन्दै इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार वेल्सलाई ३–० ले हराउँदै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहयो । इंग्ल्यान्डले ३ खेलमा २ जित र १ बराबरीसँगै ७ अंक जोड्न सफल भयो ।

इंग्ल्यान्डका लागि वेल्सविरुद्ध मार्कस रासफर्डले २ र फिल फोडेनले १ गोेल गरे । दुवै खेलाडी यसै खेलमा सुरुवाती रोजाइमा अटाएका थिए । पहिलो हाफमा गोल निस्कन नसकेपनि इंग्ल्यान्डले दोस्रो हाफको सुरुवातमै दुई गोल गर्दै खेलमा पकड बनाएको थियो ।

खेलको ५० औं मिनेटमा रासफर्डले फ्रिकिकमा सिधै गोल गरेका थिए । उनले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक गोलरक्षक ड्यानी वार्डले बचाउन सकेनन् । अघिल्लो खेलमा पहिलो रोजाइका वायन हेनेसीले रातो कार्ड खाएपछि वार्डले खेल सुरुवात गरेका थिए ।

सुरुवाती अग्रता लिएको दुई मिनेटपछि नै इंग्ल्यान्डले दोस्रो गोल थप्यो । ह्यारी केनले दायाँ विंगबाट दिएको लो क्रसमा अनमार्क रहेका फिल फोडेनले फार पोस्टबाट गोल गर्दै स्कोर २–० बनाए ।

६८ औं मिनेटमा राफर्डले व्यक्तिगत दोस्रो गोल गरे । काल्भिन फिलिप्सको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र लग्दै उनले गोल गरे । दुई डिफेन्डरको बीचबाट उनले गरेको प्रहार गोलरक्षक वार्डलाई लाग्दै गोल भएको थियो ।

समूहको अर्को खेलमा अमेरिकाले इरानलाई १–० ले हराउँदै नकआउट चरणमा प्रवेश गर्यो । अपराजित इंग्ल्यान्ड ३ खेलमा २ जित र १ बराबरीका साथ ७ अंक तथा अमेरिका ५ अंकसहित दोस्रोभएर नकआउट चरणमा पुगे । ३ अंक जोडेको इरान र १ अंक जोडेको वेल्स समूह चरणबाटै बाहिरिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 SportsNepal07.