दक्षिण कोरिया फिफा विश्वकप २०२२ को अन्तिम १६ मा पुगेको छ ।
शुक्रबार राति समूह ‘एच’ को आफ्नो अन्तिम खेलमा पोर्चुगलमाथि २–१ गोलको सनसनीपूर्ण जित निकाल्दै दक्षिण कोरिया अन्तिम १६ मा पुगेको हो ।
कोरियाले पोर्चुगलविरुद्ध एक गोलले पछि पारेको अवस्था उल्टाएको हो । खेलको पाँचौ मिनेटमा रिकार्डोको गोलबाट पोर्चुगलले अग्रता लियो । २७ मिनेटमा कोरियाका लागि योङ्गवानले बराबरी गोल गरे ।
दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा ह्वाङ हिचेनले गोल गर्दा कोरियाले रोमाञ्चक जित निकाल्यो । जितसँगै समूहमा चार अंक जोडेको दक्षिण कोरिया समूह उपविजेता बन्यो ।
अघिल्ला दुई खेलमा जित निकालेर अन्तिम १६ मा पुगेको पोर्चुगल विजेता बन्यो । यता अन्तिम खेलमा घानालाई २–० गोलले हराएको उरुग्वेले पनि कोरियाकै जति चार अंक जोड्यो ।
गोलअन्तरमा पनि दुवै टिम समान अवस्थामा थिए । तर बढी गोल गरेको आधारमा कोरिया अन्तिम १६ मा पुग्यो । कोरियाले चार गोल गर्दा चार गोलनै खायो भने उरुग्वेले दुई गोल गर्दा दुई गोल नै खायो । जारी विश्वकपमा गोल गरेको आधारमा अन्तिम १६ मा पुग्ने कोरिया पहिलो टिम बन्यो ।
उरुग्वेका लागि भने अन्तिम १६ मा पुग्न अन्तिम खेलको जित पर्याप्त हुन सकेन । समूहका तीन खेलमा आफूले गरेको कम गोल र दक्षिण कोरियाले गरेको बढी गोल बाधक बन्यो ।