गोलकिपर डोमिनिक लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै क्रोएसिया फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । जारी विश्वकपमा नकआउट चरण सुरु भएसँगै पेनाल्टी शुटआउटबाट नतिजा छिनोफानो भएको यो पहिलो खेल हो ।
जहाँ लिभाकोभिच नायक बन्दा क्रोएसियाले सहज जित निकाल्यो । लिभाकोभिचले जापानका ताकुमी मिनामिनो, काओरु मितोमा र माया योसिदाको पेनाल्टी बचाए । जापानका ताकुमा असानोले मात्र गोल गर्न सफल भए ।