स्पेनलाई स्तब्ध पार्दै मोरक्को क्वाटरफाइनलमा - SportsNepal07

स्पेनलाई स्तब्ध पार्दै मोरक्को क्वाटरफाइनलमा

फिफा विश्वकप कतार २०२२ को अन्तिम १६ को खेलमा स्पेनलाई टाइब्रेकरमा स्तब्ध पार्दै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्पेनलाई टाइब्रेकरमा ३–० ले स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो । निर्धारित र थप गरिएको अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो ।

टाइब्रेकरमा मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरे । बदर बनोउनेले गोल गर्न सकेनन् ।

स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन् । पाब्लो सारावियाको सुरुवाती प्रहार पोस्टमा लाग्यो । त्यसपछि कार्लाेस सोलेर र सर्जियो बुस्केट्सको पेनाल्टीलाई यासिन बोनोले बचाउँदै टोलीलाई अन्तिम आठको यात्रा तय गराए ।

मंगलबार राति भएको खेलको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिदा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

स्पेनले ७३ प्रतिशतभन्दा बढी बल पोसेसन राख्दै मोरक्कोलाई दवावमा राखेपनि गोल गर्न नसक्दा स्तब्ध बन्न पुग्यो ।

अतिरिक्त समयको अन्तिम समयमा पाब्लो सारावियाको प्रहारलाई डिफेन्डरले क्लियर गर्दै मोरक्कोलाई खेलमा कायम राखे । मोरक्को विश्वकपको क्वाटरफाइनलमा पुग्ने चौथो अफ्रिकी टोली बनेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर