एजेन्सी । फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै साबिक विजेता फ्रान्स फाइनलमा पुगेको हो ।
फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे । खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको अन्तिमतिर थपेको थियो । पाँचौं मिनेटमै हर्नान्डेजले गोल गर्दै फ्रान्सले अग्रता लियो ।
हर्नान्डेजले डिबक्स भित्र प्राप्त रिवाउन्ड बलमा उत्कृष्ट गोल गरे । फ्रान्सले दोस्रो गोल ७९ औं मिनेटमा थपेको थियो । बल पोसेसनमा पक्कड जमाए पनि मोरोक्कोको गोल फर्काउने प्रयास सफल भएन ।
फ्रान्सले क्वाटरफाइनलमा इङ्गल्यान्डलाई २–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै पहिलोपटक सेमिफाइनलमा पुगेको अफ्रिकन राष्ट्र मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएको थियो ।
लगातार दोस्रो पटक फाइनलमा पुगेको फ्रान्सले उपाधि रक्षाको लागि आइतबार अर्जेन्टिनासँग खेल्नेछ ।