३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि - SportsNepal07

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि

एजेन्सी । ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जितेको छ। लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो ।

फ्रान्सलाई ४–२ गोल अन्तरमा हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । खेलको निर्धारित ९० मिनेट २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि १–१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मा¥यो । अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।

फ्रान्सका केलियन एम्बाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे। किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुकेका थिए । अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो । अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो ।

फ्रान्स भने लगातार दोस्रो पटक उपाधि जित्न बन्चित बनेको छ। फ्रान्सले यसअघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।

अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेसी र एन्जल डि मारियाले गोल गरेका थिए। दोस्रो हाफमा किलियन एम्बाप्पेले ९७ सेकेन्डभित्र दुई गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

खेलको २३ औं मिनेटमा अर्जेन्टिनाले मेसीको पेनाल्टी गोलमा अग्रता लियो। पेनाल्टी क्षेत्रभित्र ओस्मान डेम्बेलेले एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

३६ औं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे। एलेक्सिस म्याक एलिस्टरले अफसाइड ट्र्याप बिट गरेपछि दिएको पासमा डि मारिया चुकेनन् ।

खेल सकिन १० मिनेट बाँकी हुँदा फ्रान्सका लागि केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दिए । निकोलस ओटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रान्डाल कोलो मुआनीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

एम्बाप्पेले दुई मिनेट नबित्दै फ्रान्सलाई बराबरीमा ल्याए। कोलो मुआनीसँग पेनाल्टी क्षेत्र बाहिर पास साट्दै एमबाप्पेले सुन्दर गोल गरे ।

अतिरिक्त समयको १ सय ९ औं मिनेटमा मेसीले अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । मेसीको रिवाउण्ड प्रहार जुल्स कुन्डेले क्लियर गरे पनि उनी पोस्टभित्र पसेको निर्णय रेफ्रीले दिएका थिए ।

अतिरिक्त समयको ३ मिनेट बाँकी रहँदा फ्रान्सले पुनः बराबरी गोल फर्कायो। केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा फ्रान्सलाई बराबरीमा ल्याए ।

प्रतिक्रिया:

सम्बन्धित खवर