फागुन १३ गतेदेखि बुढासुब्बा गोल्डकप हुने - SportsNepal07

फागुन १३ गतेदेखि बुढासुब्बा गोल्डकप हुने

माघ ४ गते, धरान । दुई वर्ष लगातार रोकिएको बुढासुब्बा गोल्डकप यो वर्ष भने आयोजना गरिने भएको छ ।

धरान फुटबल क्लबले मंगलबार एक विज्ञप्ती जारी गर्दै आगामी फागुन १३ गतेदेखि २० गतेसम्म २३ औं सँस्करण सञ्चालन गर्ने जानकारी दिएको हो । धरान १६ स्थित रंगशालामा हुने प्रतियोगितालाई सम्पन्न गर्न आर्थिक उपसमिति, प्रचारप्रसार उपसमिति, मैदान व्यवस्थापन उपसमिति र आयोजक टिम तयारी उपसमिति गठन भइसकेको पनि क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष किशोर राईले जारी गरेको विज्ञप्ती अनुसार यी समितिहरुको संयोजकमा क्रमशः नविन राई, प्रताप तामाङ, सुदिप उप्रेती र रोमी मोक्तानलाई जिम्मेवारी दिइएको छ ।

२०५५ सालदेखि शुरु भएको बुढासुब्बा गोल्डकप मोफसलको चर्चित फुटबल प्रतियोगितामा पर्छ। वर्षेनी आयोजना भइरहेको यो गोल्डकप २०७७ र २०७८ सालमा भने कोरोना महामारी र आर्थिक संकटले गर्दा क्रमशः २३ औं र २४ औं सँस्करण आयोजना हुन सकेन। यो वर्ष प्रतियोगितालाई निरन्तरता दिलाउन क्लब अध्यक्ष किशोर राई अध्यक्षतामा पदाधिकारीहरु रहने गरि सचिवालय पनि गठन गरिएको छ ।

प्रतियोगितामा काठमाण्डौंका एक डिभिजन क्लबहरु, भारत र मोफसलका उत्कृष्ट क्लबहरुसँग सम्पर्क भइरहेपनि निर्णय भइनसकेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतियोगितामा आयोजकको एउटा मात्र टिम हुनेछ। हाल सञ्चालन भइरहेको २३ औं गोधुली रनिङ कपलाई आधार बनाएर धरानको टिम तयार गरिने पनि क्लबले जनाएको छ । ‘आयोजक टिम व्यवस्थापन उपसमितिले छनौट गरिएको खेलाडीहरुलाई प्रशिक्षणमा सहभागी गराई अन्तिम छनौट गरिनेछ,’विज्ञप्तीमा भनिएको छ ।

बुढासुब्बा गोल्डकपले प्रतियोगिता अघि नै २२ औं सँस्करणको पुरस्कार रकम दिने प्रतिवद्धता गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर