असार १३, विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा बुधबारदेखि विराटनगरमा प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले पछिल्लो समय हरेक क्षेत्रमा विराटनगर पछि पर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले विगतमा विराटनगरले प्रशस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको स्मरणसमेत गर्नुभयो ।
उहाँले खेलकुदको विकासका लागि महानगरपालिका सधैं लागिपर्ने बताउनुभयो । मेयर कोइरालाले खेलकुदका माध्यमबाट आर्थिक र आणविक रुपमा जतिसुकै शक्तिशाली राष्ट्रलाई पनि परास्त गर्न सकिने विचार राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल सफ्ट टेनिस एसोसिएसनका अध्यक्ष विनयविक्रम शाह, प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी, वाग्मती, लुम्बिनी, सुदूरपश्चिम प्रदेश र विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबका ७० जनाभन्दा बढी खेलाडी सहभागी छन् ।