एनईएससीको झण्डा अष्ट्रियाको सबैभन्दा अग्लो हिमालमा फहराइयो - SportsNepal07

एनईएससीको झण्डा अष्ट्रियाको सबैभन्दा अग्लो हिमालमा फहराइयो

अष्ट्रिया (एजेन्सी) । नेपाली युरोपियन खेलकुद संघ (एनइएससी)को झण्डा अष्ट्रियाको सबैभन्दा अग्लो हिमाल ग्रोस्ग्लोक्नेरमा फहराइएको छ ।

संघलाई देश तथा विदेशमा परिचित गराउन प्रचारप्रसार गर्ने उद्देश्यले अष्ट्रियाको सबैभन्दा अग्लो हिमालका रुपमा रहेको ग्रोस्ग्लोक्नेरको चुचुरोमा संघको लोगोसहितको झण्डा फहराइएको संघका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए । अष्ट्रियाको स्थानीय भाषामा ग्रोस्ग्लोक्नेर भनेको ठूलो घण्टी हो । सो हिमाल घण्टीको आकारजस्तै भएकाले स्थानीय भाषाबाट ग्रोस्ग्लोक्नेर राखिएको घमालले बताए ।

सन् २०२० मा अष्ट्रियाको इन्स्ब्रुकमा स्थापित संघले नेपालको राष्ट्रिय खेल भलिबललाई युरोपमा समेत परिचित गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । ३७८९ मिटर उचाइ रहेको सो हिमाल अष्ट्रियाकै सबैभन्दा अग्लो हिमाल हो ।

संघका महासचिव राजु विश्वकर्मा र कोषाध्यक्ष गारा तेम्बा शेर्पाले सो हिमालमा झण्डा फहराएका हुन् । संघका अध्यक्ष घमाल भने सो हिमालको २९ सय मिटरमा पुग्न सफल भए । महासचिव र कोषाध्यक्षलाई पठाएर अध्यक्ष घमाल भने त्यही आराम गरेका थिए । “हिमाल चढ्ने अभ्यास नभएका कारण माथि पुग्ने आँट आएन,” घमालले भने, “यसपटकको अभ्यासले अर्को वर्ष अझै धेरै साथीहरूका साथै चुचुरोमा पुग्ने लक्ष्य लिएको छु ।”

कोषाध्यक्ष शेर्पा भने सो हिमालको चुचुरामा चारपटक पुगिसकेका छन् । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ स्थापित संघले युरोपका विभिन्न देशमा हुने भलिबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।

संघ आफैंले पनि प्रतियोगिता आयोजना गर्दै आएको छ । संघको प्रचारप्रसार गर्ने र स्वास्थ्य जीवनका लागि खेलकुद अपरिहार्य भन्ने सन्देश प्रवाह गर्न हिमालको चुचुरोमा झण्डा फहराएको अध्यक्ष घमालले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 SportsNepal07.