५ भदौ, काठ्माडौं । साफ यू –२० च्याम्पियनसिपमा १० खेलाडीमा सीमित भुटानले माल्दिभ्सलाई पराजित गरेको छ ।
बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भारी वर्षाका बीच भएको खेलमा भुटानले २–१ गोलको जित निकालेको हो ।
खेलको २१ मिनेटमा दोर्जीको गोलबाट भुटानले खेलमा अग्रता लिएको थियो ।
खेलको ५३ मिनेटमा भुटान १० खेलाडीमा सीमित बन्यो । गोलकिपर तेन्जिङले डिबक्स बाहिर बल छोएपछि रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।
प्राप्त फ्रिकिकमा गोल गर्दै माल्दिभ्सले खेल बराबरीमा ल्याए । माल्दिभ्सका फिराकले डिबक्स बाहिरबाट हानेको प्रहारले गोल पोस्टको दिशा लियो ।
१० खेलाडीमा सीमित भए पनि भुटानले ८९ मिनेटमा अग्रता लियो । उसका लागि सांगे छोपेलले गोल गर्न सफल भए ।
यसअघि पहिलो खेलमा भारतसँग पराजित भएको भुटानको सेमिफाइनल सम्भावना बाँकी भएको छ ।
प्रतियोगितामा भोलि बिहीबार घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा गर्दैछन । दुवै टोली पहिलो खेलमा माल्दिभ्सलाई पराजित गर्दै अन्तिम चारमा पुगिसकेका छन । भोलिको खेलबाट समूह विजेताको टुंगो लाग्नेछ ।