८ चैत्र , पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ ले प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतिगिता सुरु गरेको छ । आइतबार नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन खेलमा वडा नं. १ ले वडा नम्बर ३ लाई खेल नियमअनुसार ‘सडेनडेथ’ मा ६ को विरुद्ध ७ गोल गर्दै विजयी भएको हो । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि टाइब्रेकर गराइएको थियो । टाईब्रेकर ‘सडेन डेथ’ तर्फ धकेलिएपछि उद्घाटन खेलमा आयोजक वडा नम्बर १ ले विजयी हासिल गरेको हो ।
खेलको म्यान अफ दि म्याच वडा नं ३ का गोलकिपर सुगम लिम्बु घोषित भए । प्रतियोगिता उद्घाटन समारोहका अध्यक्ष समेत रहनुभएका वडाध्यक्ष भीमकुमार राई र अखिल नेपाल फुटबल संघ मोरङका अध्यक्ष संजिव बुढाथोकीले मेडल तथा ट्रफी प्रदान गर्नुभएको थियो । आज वडा नं २ र वडा नम्बर १० बीच खेलहुने आयोजकका भिष्म न्यौपानेले जानकारी दिनुभयो ।