१४ बैशाख, पथरी । प्रदेश स्तरीय ‘बि’ डिभिजन ब्याडमिन्टन प्रतियोगिताको उपाधि विशन राई र देवन राईको जोडीले हात पारेको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रथम प्रदेश स्तरीय ‘बि’ डिभिजन ब्याडमिन्टन प्रतियोगिता वडा नंं. १० कभर्डहलमा सम्पन्न भएको थियो ।
पथरीशनिश्चरे ब्याडमिन्टन क्लबको आयोजनामा भएको फाइनल खेलमा बेलबारीका कमल तामाङ र प्रतिक बिष्टको जोडीलाई राईद्वयले पराजित गरेका थिए । पहिलो सेट कमल र प्रतिकको जोडीले २१–१७ को अन्तरले जितेको थियो । यस्तै दोस्रो सेट विशन र देवनको जोडीले २१–१९ को अन्तर र तेस्रो सेट २१–१८ को अन्तरले जित्दै उपाधि हात पारेका थिए ।
प्रदेश भरिका ४० टोलीले सहभागिता जनाएको प्रतियोगितामा तेस्रो स्थान इटहरीका मन्दिप घलेर जोसेफ ठकुरी र धरानका ज्ञानु लिम्बुको जोडी भए । प्रतियोगितका म्यान अफ द म्याच ताप्लेजुङका एन्ड्रेश लिम्बु घोषित भए ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार सहित ट्रफी, मेडल, प्रमाण–पत्र समापन समारोहका प्रमुख अथिति पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेले प्रदान गरेकी थिइन् ।
पथरी शनिश्चरे ब्याडमिन्टन क्लबका अध्यक्ष सनम मगरको सभापतित्वमा भएको समापन कार्यक्रममा वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, वडा नं. २ वडा सदस्य चन्द्रकुमार राई लगायतको उपस्थिति रहेको थियो ।