माघ २६ गते, काठमाडौं । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड एक गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ ।
मंगलबार राति भएको खेलमा अंक तालिकाको पुछारमा रहेको बर्नलीसँग युनाइटेड १–१ गोलको बराबरीमा रोकिएको हो । बर्नलीको मैदानमा भएको खेलको १२औं मिनेटमै युनाइटेडका राफेल भारनले गोल गरे पनि भिएआरले मान्यता दिएन ।
१८ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अग्रता युनाइटेडले दोस्रो हाफमा कायम राख्न सकेन । ४७ औं मिनेटमा जे रोड्रिगेजले बर्नलीका लगि बराबरी गोल फर्काए ।
यस बराबरीपछि युनाइटेड २३ खेलबाट ३९ अंक जोडेर पाँचौं स्थानमा छ । बर्नली १४ अंकसहित पुछारमै छ । अर्को खेलमा वाटफोर्डलाई १–० ले हराएर वेष्टह्याम चौथो स्थानमा उक्लेको छ । वेष्टह्यामको २४ खेलबाट ४० अंक छ । अर्को खेलमा न्युकासलले एभर्टनलाई ३–१ ले हराएको छ । अनलाइनखबरबाट
