
हारका बावजुद पनि फ्रान्स फिफा विश्वकप २०२२ मा समूह विजेता बनेर अन्तिम १६ मा पुगेको छ ।
बुधबार राति भएको समूह ‘डी’ को अन्तिम चरणको खेलमा ट्युनिसियासँग १–० गोलले हारे पनि फ्रान्स समूह विजेता बनेको हो ।
फ्रान्सले समूहमा तीन खेलबाट ६ अंक जोड्यो । फ्रान्स अघिल्ला दुई खेलमा जित निकाल्दै अन्तिम १६ मा पुगिसकेको थियो ।
बुधबार खान्जीको गोलबाट ५८ मिनेटमा ट्युनिसियाले अग्रता लिएको थियो । दोस्रो हाफको इन्जुरी टाइमको आठौं मिनेटमा फ्रान्सका ग्रिजम्यानले बललाई जाली चुमाए पनि भारमार्फत अफसाइड घोषित गरियो ।
यता समूहमा अस्ट्रेलिया उपविजेता बनेर अन्तिम १६ मा पुगेको छ । अस्ट्रेलियाले बुधबार डेनमार्कलाई १–० गोलले हरायो ।
अस्ट्रेलियाका लागि ६० मिनेटमा म्याथ्यु लेकीले गोल गरेका थिए । समूहमा अस्ट्रेलियाले तीन खेलबाट ६ अंक जोड्यो ।
यता अन्तिम खेलमा फ्रान्सलाई हराए पनि ट्युनिसियाले अन्तिम १६ मा स्थान बनाउन सकेन। उसले ४ अंक जोड्यो ।
समूहमा डेनमार्क १ अंकसहित पुछारमा रह्यो ।
