पूर्व पाटी व्यूरो, १६ चैत्र ।
ज्वारो आएर अस्पतालमा उपचार गराउन आएका बिरामीलाई फर्काउने अस्पतालहरु अब कारबाहीमा पर्ने भएका छन् ।
अधिकांश निजी अस्पतालहरुले ज्वरोबाट पीडित बिरामीलाई अस्पतालको गेटबाटै फर्काइदिने गरेको जनगुनासो बढेपछि सरकारले अब त्यस्ता अस्पतालाई कडाई गर्ने भएको हो । ज्वरोका बिरामी अस्पताल गएमा कोरोना संक्रमित हो कि ? भनी शंका गरेर फर्काइदिने अस्पतालहरुविरुद्ध सरकार कडा रूपमा प्रस्तुत हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकेटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा भने –‘के सरकारी, के गैरसरकारी, के सामुदायिक सबै अस्पतालले आफ्नो दायित्व बुझ्नुपर्ने हुन्छ ।’ कुनै पनि बहानामा ज्वरोका बिरामी फर्काउने अस्पतालविरुद्ध कडा कदम चाल्न नपरोस् भन्दै प्रवक्ता देवकोटाले चेतावनी दिएका छन् ।
उनले थप भने –‘संक्रमणकालीन अवस्थामा गरिने नियम हेरेर हामीले काम गरिरहेका छौं, कम्तिमा बिरामी नफर्काइदिनुस्, मन्त्रालयले तोकेको नियमअनुसार उपचार गर्नुहोस् ।’
सरकारले तोकेका कोरोना विशेष अस्पतालहरु, हब अस्पताल, प्रादेशिक अस्पताल, मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले अनिवार्य रुपमा ज्वरो क्लिनिक सञ्चालन र आकस्मिक सेवा उपलब्ध गराउनुपर्ने र अन्य अस्पतालले पनि आकस्मिक स्वास्थ्य सेवा यथारुपमा सञ्चालन गर्नुपर्ने देवकोटाको भनाइ छ ।
कोरोना संक्रमितको अवस्था सामान्य
कोरोना भाइरसबाट संक्रमित भइ नेपालमा उपचाररत व्यक्तिहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
कोरोना संक्रमित पाँच जनामध्ये एक जना सफल उपचारपछि घर गइसकेका छन् भने बाँकी चार जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
हाल संक्रमित दुई जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा, एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पताल र एक जनाको बागलुङको धौलागिरी अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको हो ।