चैत १२ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कप–२०७८ हुने भएको छ ।
शुक्रबार कानेपोखरी खेलकुद परिषद समितिले गाउँपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलहुने बारे जानकारी गराएको हो । खेल चैत १३ गते देखी २० गते सम्म वडा नम्बर ५ स्थित जहदाको रंगशालामा हुने कानेपोखरी खेलकुद परिषद समितिका अध्यक्ष चरण गुरुङले बताए ।
खेलको विजेता टिमले नगद १ लाख र उपविजेताले ६० हजार ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । प्रत्ये खेलमा म्यान अफ द म्याच नगद १५ सय, ट्रफी र मेडल पाउने छन् । त्यसैगरी खेलको अन्तिम दिन विद्यागत पुरस्कार खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १ जनालाई नगद ५ हजार, हाइस्कोरर, बेस्ट डिफेन्डर, बेस्ट स्ट्राइकर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई जनही ३ हजार सहित ट्रफी र मेडल प्रदान गरिने समितिका सचिव एविन पाठकले बताए ।
खेलमा आयोजक कानेपोखरी गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, बेलबारी नगरपालिका, केराबारी गाउँपालिका, लेटाङ नगरपालिका, मिक्लाजुङ गाउँपालिका, उर्लाबारी नगरपालिका र इटहरी उपमहानगरपालिका गरी जम्मा ८ वटा टिम सहभागी रहेका छन् ।
खेलमा दैनिक ५ देखी १० हजार सम्म दर्शक खेल मैदानमा आएर फुटबल खेलको मनोरञ्जन लिने खेल आयोजक समितिले अपेक्षा गरेको छ । उद्घाटन खेलमा मिक्लाजुङ गाउँपालिका र बेलबारी नगरपालिका विच खेल हुने भएको छ । खेलको उद्घाटन गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले गर्ने भएको छ ।
कुलतमा लागेका युवाहरुलाई खेलको माध्यमबाट सही मार्गदर्शन गराई उनीहरुको भविश्य उज्वल बनाउन प्रयन्न गर्ने र फुटबल खेलको माध्यमबाट यस कानेपोखरी गाउँपालिकालाई जिल्ला, प्रदेश हुर्दै राष्ट्र मै चिनाउनका लागि प्रयत्न गर्ने लगाएको उद्देश्य सहित खेलको आयोजना गरेको समितिका सदस्य मनोज अधिकारीेले बताए । खेल अवधिभर ८ लाख खर्च हुने आयोजक समितिले जनाएको छ ।
पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामले शुभकामना मन्तव्य राखेकी थिइन् । त्यसैगरी वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकी, वडा नं. ७ का वडाध्यक्ष मोहन अधिकारी, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत लगाएत उपस्थित रहेका थिए ।
यस अघि वडा स्तरीय गाउँपालिका अध्यक्ष कप प्रतियोगिता भएको थियो । यस अघि वडा नम्बर ७ र ४ ले वडाध्यक्ष कप प्रतियोगिता पनि सम्पन्न गरेको छ ।