विश्वकपमा क्यामरुन र सर्बियाबीचको खेल बराबरीमा सकिएको छ । समूह जी अन्तर्गत सोमबारको खेलमा दुई टोलीले ३–३ को बराबरी खेलेका हुन् । खेलमा अग्रता भने क्यामरुनले नै लिएको थियो ।
जिन चाल्र्स क्यास्टेलेटोले खेलको २९ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै सर्बिया खेलमा फर्किएको थियो । सर्बियाका लागि स्ट्राहिन्जा पाभ्लोविच र सर्जेग मिलिन्कोभिच साभिचले गोल गरे ।
दोस्रो हाफको सुरुवातमा नै अलेक्सान्डर मिट्रोविचले गोल गर्दै सर्बियाको अग्रता फराकिलो बनाए । तर, ३ मिनेटको अन्तरमा क्यामरुनले दुई गोल फर्कायो । भिन्सेन्ट अबुबकार र एरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै खेल बराबरी गरे ।
दुई खेलपछि दुई टोलीको १–१ अंक रहेको छ । दुवै टोली यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए ।